गाउँकै अगुवा किसान, गाउँले एफएम दाई
दैलेख | मंसिर ७, २०८१
दैलेख: नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ ।
खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाउनुभएको छ ।
कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उहाँले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गर्नुभएको छ । उहाँले हाँस्दै भन्नुभयो, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?”
पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उहाँको दिनचार्य नै बनेको छ ।
खड्का भन्नुहुन्छ, “बजारमा पाइला टेक्नेबित्तिकै गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है आयो, आफ्नै बारीमा फलाएको, अग्र्यानिक तरकारी, किन्नुहोस् भन्दै बजार–बजार डुल्दै चिच्याउनुहुन्छ ठट्यौली शैलीमा ।” उहाँको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकांश मानिसले सिको गर्न थालेका छन् ।
“सानै उमेरमा हिमाञ्चल गएँ, दुःख पाएँ । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किएर तरकारी लगाएँ । म १४ वर्षकै उमेरमा विदेश (भारत) मजदुरी गर्न जानुभएका उहाँ आजभोलि गाउँकै अगुवा कृषक बन्नुभएको छ । पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए त्यसपछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारीखेतीतिर लागेको हुँ”, उहाँले भन्नुभयो ।
हाँसेर कुरा गर्ने उहाँको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछु ।
“एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो, उहाँ भन्नुहुन्छ, “बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !”
श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाउनुभएको छ । खड्काले गाईवस्तुका बाहेक अन्य मल प्रयोग गर्नु हुँदैन । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । “छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,” उहाँले भन्नुभयो ।
‘गाउँले एफएम दाइ’
विस २०५८ तिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उहाँकै दैनिकजस्तै थियो । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो ।
रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उहाँका छरछिमेकी बताउँछन् ।
“आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थेँ, बिबीसी सुनेर विश्वका घटना पनि ज्ञान लिन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उहाँको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिनुभएछ, अहिले नगेन्द्र नामले होइन । उहाँले गाउँले एफएमदाई नामले परिचित हुनुहुन्छ ।
खड्का लोकगीत र देउडामा रुचि उत्तिकै छ । “विस ं२०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउनुहुन्थ्यो, त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–सङ्गीततर्फ लगाव रह्यो ।”
देउडा र लोकगीतमा उहाँको रुचि छ । केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्नुहुन्थ्यो । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उहाँ स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित हुनुभएको छ । अझै पनि उहाँको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्नुहुन्छ ।
बजार बुझेर उत्पादन गर्दा आम्दानी
बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उहाँको भनाइ छ । विगत सम्झँदै खड्काले भन्नुभयो, “विसं २०७९ वैशाखमा मङ्सिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन भनेर बारीमा तरकारी लगाएँ ।
मङ्सिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचे ।” उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उहाँले जानकारी दिनुभयो ।
सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैँ उत्पादन गर्नुहुन्छ । “हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । विसं २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरेँ,” उहाँले भन्नुभयो, “म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।”
ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेँडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेँडा फलेको उहाँले खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “भर्खरै मात्र रु दुई हजार पाँचमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, रु ६० केजीमा बिक्री भइरहेको छ ।”
कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउनुहुन्छ । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उहाँले भन्नुभयो, “अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।”
परम्परागत रूपमा खेती गर्दै आउनुभएका खड्काले अहिलेसम्म गैरसरकारी सङ्घसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान वा पाउनुभएको छैन । मैले मेहनतले नै पुरस्कार पाएँ ।
उहाँका अनुसार राज्यले दिने करोडौँ अनुदान झोलामै तरकारी फलाउने र झोलामै बाख्रापालन गर्ने बिचौलियाले पाउँछन् । हामीजस्ता किसानले सरकारले दिने अनुदान पाए अधिकांश मानिस गाउँमै स्वरोजगार हुने थिए ।
तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उहाँलाई पाल दिएको थियो । पालको छानो राखी उहाँले बारीनजिकै पोखरी बनाउनुभएको छ । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ ।
कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्नुहुन्छ । कसरी फलाउने भन्नेबारे अध्ययन गर्ने खड्काले चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार पाउनुभएको थियो ।
हरेक मानिसका आ–आफ्ना सौख हुन्छन् । ती सौख पूरा गर्न मानिस लागिपरिरहेका हुन्छन् । कुनै बेला रेडियोप्रेमी खड्का आजभोलि टिकटकतिर मोडिनुभएको छ । कृषिबारे जानकारीमूलक भिडियोे बनाएर उहाँले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्नुहुन्छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

